न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ ।
सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ ।
सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० काे हाराहारीमा पुगेको छ । यस्तै भारतको सत्यमङ्गलम् टाइगर रिजर्भमा सन् २०११ मा २५ वटा बाघ रहेकोमा अहिले बढेर ८० काे हाराहारीमा पुगेकाे डब्ल्यूडब्ल्यूएफले जनाएको छ ।
टाइगर्स अलाइभ इनिसिएटिभका प्रमख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयवासीले देखाएको संरक्षण निकै तारिफयोग्य र असाधारण रहेको बताएका छन् । यस्तै एकीकृत आवास कार्यक्रम आईयूसीएनका संयोजक सुगोतो रोयले बाघको वासस्थानको सुधार, सिकारीको कडा अनुगमन र स्थानीयवासीको इमाादारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
Post a Comment