मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा एक समय त्यस्तो आएको थियो, जतिबेला नेपालले गोल खाने निश्चितजस्तै देखिएको थियो । नेपालले दसौं मिनेटमा गोल मात्र के गरेको थियो, टिमले मोरिससलाई पेनाल्टी अवसर दिएको थियो । पेनाल्टीमार्फत मोरिससले बराबरी गर्ने मौका पाएको थियो । तर पेनाल्टीमा कप्तान एन्डी सोफी सफल रहेनन् । उनको प्रहारमा नेपाली गोलरक्षक किरण चेम्जोङले सही अनुमान गरे ।
उनले आफ्नो दायाँतर्फ डाइभ गर्दै बललाई रोके । नेपालले यो खेल किन जितेको थियो भने किरणले पूरा खेल अवधिमा एकभन्दा बढी अवसरमा उत्कृष्ट बचाउ गरे । नतिजा नेपालले मोरिससविरुद्ध लगातार दुई खेलमात्र जितेन, दुवै खेलमा कुनै गोल पनि खाएन । त्यसो भनेको लगातार दुई ‘क्लिन सिट’ । खासमा भन्दा किरणलाई अन्तर्राष्ट्रिय फुटबलमा नेपालका ‘क्लिन सिट’ का राजाभन्दा हुन्छ । उनी नेपालले पाएका अहिलेसम्मकै सबैभन्दा अब्बल दर्जाका गोलरक्षक हुन् ।
यसमा कसैको फरक मत हुनसक्छ, कम्तीमा तथ्यांकले यस्तै भन्छ । मोरिससविरुद्धको दोस्रो खेलमा उनले कुनै गोल नखानुको अर्थ थियो, नेपालका लागि उनले २५ ‘क्लिन सिट’ को उल्लेखनीय उपलब्धि हात पारेका छन् । यो नेपालका लागि उनको ८१ औं खेल थियो । सबैलाई थाहा छ, उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । अब त्यस्तो दिन पनि आउने सक्नेछ, जतिबेला उनले नेपालका लागि ऐतिहासिक सय ‘क्याप’ जित्नेछन् ।
यो त भविष्यको कुरा भयो । अहिले तत्कालका लागि चर्चाको विषय भने उनका यिनै ‘क्लिन सिट’ को हो । सबैभन्दा पहिले सन् २००८ मा फर्किन पर्छ, जतिबेला उनले नेपालका लागि डेब्यु गरे । अवसर थियो, एएफसी च्यालेन्ज कप छनोट अनि प्रतिद्वन्द्वी थियो मकाउ । जर्मन प्रशिक्षक थोमस फ्लाथले उनलाई पहिलो खेलको अवसर त थिए, तर त्यो २३ मिनेटमात्र टिकेको थियो । उनी चोट बोक्दै मैदानबाट बाहिरिए । लागिरहेको थियो, उनले फेरि फुटबल पनि खेल्न सक्ने छैनन् ।
विपक्षी खेलाडीसँग ठोक्किएर उनको बंगारामा गम्भीर चोट लागेको थियो । तर उनी भाग्यमानी रहे र मैदानमा फर्कन सफल रहे । उनले नेपालका लागि दोस्रोपल्ट सन् २०११ मा खेले । अवसर थियो, भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल । त्यही खेलमा उनले पहिलो ‘क्लिन सिट’ बनाए । त्यसपछि सुरु हुन्छ उनको २५ खेलमा कुनै गोल नखाएको यात्रा । विश्व फुटबलमा कुनै पनि गोलरक्षकको प्रदर्शन नाप्न एउटा बलियो औजार ‘क्लिन सिट’ नै हो ।
किरणले सन् २०११ मै एएफसी च्यालेन्ज कपमा अफगानिस्तान र श्रीलंकाविरुद्ध दुई खेलमा कुनै गोल खाएनन् । यस्तै प्रदर्शन उनले त्यही वर्ष विश्वकप छनोटमा टिमोर लिस्टे पनि कायम राखे । त्यही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि बंगलादेशविरुद्ध उनको प्रदर्शनमा गोल थिएन । सन् २०१२ को नेहरू कपमा पनि उनकै उत्कृष्ट प्रदर्शनका कारण भारतविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
सन् २०१३ मा उनले तीन ‘क्लिन सिट’ राखे । यसको सूची बनाउने हो भने किरणले सन् २०१५ मा दुई खेल, २०१६ मा तीन खेल, २०१७ मा दुई खेल र २०१८ मा फेरि दुई खेलमा नेपालका लागि कुनै गोल खाएनन् । सन् २०१९ मा उनको यस्तै प्रदर्शन दुई खेलमा रह्यो भने २०२१ मा तीन खेल र २०२२ मा दुई खेलमा दोहोर्याए ।
अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म नेपालले ५२ खेलमा कुनै गोल नखाएको प्रदर्शन रहेको छ । यसमध्ये २५ खेल त किरणकै नाममा रहेको छ । यसले पनि देखाउँछ, नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा उनको दबदबा छ । अब एकपल्ट सर्वकालीन सूची बनाऔं न त ? त्यसमा नेपालका को–को गोलरक्षकले कति खेलमा कुनै गोल खाएनन् त ?
किरणसँगै ६ अन्य गोलरक्षकले नेपालका लागि ‘क्लिन सिट’ बनाएका छन् । त्यसमध्ये किरणपछि दोस्रो स्थानमा छन् उनकै गोलरक्षक गुरु उपेन्द्रमान सिंह । उनले ९ खेलमा ‘क्लिन सिट’ राखे । त्यसपछि दिवंगत भइसकेका गोलरक्षकको नाम आउँछ । उनी थिए लोकबहादुर शाही । उनले ६ खेलमा कुनै गोल खाएनन् ।
नेपाली राष्ट्रिय टिमका अहिलेका गोलरक्षक प्रशिक्षक विकास मल्लले ५ खेलमा ‘क्लिन सिट’ को उपलब्धि छोए । त्यस्तै अजर अधिकारीले ४, विकेश कुथुले २ र रितेश थापाले १ खेलमा यस्तै उपलब्धि आत्मसात् गरे । तथ्यांकमा किरण ती ६ गोलरक्षकभन्दा गोल नखाने उपलब्धिमा धेरै अगाडि छन् । जतिबेला किरणले खेल्न छाड्ने छन्, त्यतिबेला उनको नाममा ‘क्लिन सिट’ को त्यस्तो कीर्तिमान रहनेछ जुन भंग हुन गाह्रै हुनेछ । असम्भव मात्र भन्न नहुने हो ।
Post a Comment