“बडा दसैँ र अनुभूति”

निर्मल सुवेदी

बडादसैँ २०८० को आज सप्तमी तिथि अर्थात फूलपाति । नेपालीहरुको महान चाड बडा दसैँ सबैको घर–आँगनमा प्रवेश गरिसकेको छ । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यसको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दसैँ शुक्ल प्रतिपदा (घटस्थापना) देखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ । चाडवाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन् । दसैँ पर्वले धार्मिक महत्व मात्र बोकेको छैन् । यसले आर्थिक, सामाजिक, राजनितिक र सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको छ । दसैँलाई असत्यमाथि सत्यले विजय प्राप्त गरेको पर्वका रूपमा हेरिन्छ । सामाजिक हिसाबले पनि दसैँ उत्कृष्ट चाड हो । यसले समाजलाई एक–आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । त्यही कारणले यो कुनै एक समूहको चाड नभइ सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो । दसैँको महत्व र परम्परालाई बिर्सिन सकिदैन । बिर्सन मिल्दैन पनि । 


देश भरी दसैँको चहल–पहल सुरु भैसकेको छ । विदेशीयका र विभिन्न उद्देश्यले शहरमा रहेका कैयौँ नेपालीहरु दसैँ मनाउन घरगाउँ फर्किरहेका छन् । । सरसामान र खाद्यवस्तु खरिदको लागि बजारमा उपभोक्ताहरुको घुईचो लागेको छ । गाउँले चिया पसलहरुमा दाईहरु चियाको चुस्की सँगै दसैँ मनाउने योजना बुन्दै छन् । माकुरोले लगाएको जालोहरु पन्छाउदै घरहरु विभिन्न रंगहरुले सिंगारिदै छन् । मालसिरी वा मालश्रीको धुनसँगै गाउँघरहरुमा दसँैको रौनकले सबैलाई हर्षित बनाएको छ । कैयौँ आमाहरु विदेशीएका छोरा–छोरीहरुको आगमनको आशाका पखेटाहरु फिजाएर पर्खिरहेकी छन् । देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण सिर्जना भएको छ । आफ्ना नाता कुटुम्ब, ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ–नयाँ कपडाहरू लगाउने, मिठो मसिनो खाना खाने÷खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस मैलिक पर्वमा विशेष उत्साहका साथ गरिन्छ ।

बाल्यकाल र दसैँ  

अनुभुति र विगतलाई नियाल्दा सबैलाई आफ्नो बाल्यकाल निकै प्रिय लाग्ने । बालापन प्रिय नलाग्ने सायदै कोही होलान । उमेरसँग जोडिने हरेक कुराको आफ्नै महत्व । आफ्नै अस्तित्व । बालापनको उमेर फेरी घुमेर आईदिए हुन्थ्यो जस्तो लाग्ने । रुदै भुईमा लडिबुडि गर्दा आमाले फकाएको सम्झना सबैलाई प्रिय लाग्ने । उमेरसँगै जिम्मेवारी बहन गर्नुपर्ने भएर होला सायद, हिजो बुवाआमाको आफु छोरा हुदाँको आनन्द अर्कै । आज छोरीछोरीको आफु बुवा हुदाँको जिम्मेवारी अर्कै । परिस्थिति जस्तो रहेपनि आनन्द, खुशी हुन सिक्नुको महानता बेग्लै ।  सानो छदाँ, औँलामा ३ महिना २ महिना १ महिना भन्दै दसैँ आउने दिनहरू खुब गनिथ्यो । स्कुलमा सर÷म्यामहरुले दिएको गृहकार्य दिनरात गरी एक–दुई दिनमा सकिन्थ्यो । सानो खोलीको माटो साईकलमा राखी बोकेर ल्याई आमाले घर टालोले पोत्दा, दसैँ आयो भन्दै धान र चिउरा कुट्दा र आमाले नयाँ लुगा अब दसैँमा किन्ने है भनी फकाउदाँ दसैँको रौनक बेग्लै लाग्ने त्यो बेला । त्यो बाल्यकालमा । पालो कुरी दोबाटोमा काकाहरुले बनाएको पिंगमा मच्चिन पाउदाँको त्यो अनुभुति कति मिठो । कति प्यारो । टिका ग्रहण गरी मान्यजनहरुबाट आशिर्वाद र पैसा पाएर छ्यांम छ्यांम्ती नयाँ नोट गन्न पाउँदा कति हर्षित त्यो क्षण । पुरानो पैसासँग नयाँ नोटको पैसा साट्न खुब रमाईलो लाग्ने । मेरो टिका धेरै, तेरो टिका थोरै भन्दै खुब भनिन्थ्योे । कति अबोध ती पलहरु । कति खुशीयाली ति क्षणहरु । स्मरण गर्दा ओठमा मुस्कान मुस्कुराई हाल्छ । मन मक्ख अनि खुशी बेग्लै । आफ्नो अडान राख्दै भुईमा लडिबुडि गर्दै रोएको सानो बच्चाले आफ्नो माग पुरा हुदाँ भएको खुशी जस्तै । दसैँको दिनभरी टिका लगाउदा जम्मा भएका पैसा अधेरी साँझमा गन्दाको खुशी झन प्रिय । दसैँमा लगाएको टिका भोलि पल्ट पनि निधारमा रह्यो भने राम्रो हुन्छ भनी आमाले भन्दा संवेदनमा राखि सुतेको त्यो क्षण कति प्यारो । कति आनन्दमय । तास खेली हारेपछि आमाको छेउमा गएर बसी आमालाई फकाएर पैसा मागेको मजा छुट्टै । पोहोरको दसँैमा यती दक्षिणा भएथ्यो, अहिले कती हुने हो भनेर मनमनै खुब हिसाब किताब गरिन्थो । निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा छन्द्राङछन्द्राङ पार्दै हिडेको त्यो बालापन सम्झिदै कति प्यारो पो दसँै आएझै लाग्थो । नाता कुटुम्ब, ठुलाबडा र मान्यजनबाट टिका तथा जमरा लगाई आर्शिवाद ग्रहण पश्चात यो बज्जिया त छोरोमान्छे पो हो त, छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो निकै मानिन्थो । कति अबोध त्यो उमेर । पैसा भन्दा आर्शिवाद, शुभेच्छा ठुलो रहेछ भनी अचेल बल्ल अनुभूति हुन्छ । 

अन्त्यमा शरद ऋतुको यो समय, ढकमक्क फुलहरु फुलेका छन् । खेतमा लहलह धानका बालाहरु झुलेका छन् । बर्षा थामिएको छ । न जाडो छ, न गर्मी । बर्खे पानी÷झरी बिदा भएर वातावरणमा पनि अनौठो महक छरिएको छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर, नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, भाइचाराको विकास गर्ने साथै नव–पुस्तामा संस्कृति हस्तान्तरणको पारिवारिक तथा सांस्कृतिक अवसरको रूपमा पनि दसैँको महत्वलाई लिनु पर्दछ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दसैँ खर्च दिएर दसैँको महत्वलाई अझै उजागर गरेको छ । हामी सबैले बडा दर्सैँलाई परम्परा र संस्कृतिको संरक्षण र जर्गेना गर्ने हेतुले मनाउ । एकआपसमा रमाईलो गरौँ । सद्भाव कायम राखौँ । देशमा आर्थिक संकट र महंगाई विद्यमान नै छ । सबैको लागि दसैँ सरल र सहज तरिकाले मनाउने, खुशी साट्ने माध्यम बनोस । सबैको सुख, मनमा शान्ति, सु–स्वास्थ्य, दिर्घायु, सद्भाव र सम्बृद्धिको लागि नवदुर्गा भवानीबाट उर्जा प्राप्त होस् । स्वदेश र विदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरुमा बडा दसैँ–२०८० को हार्दिक शुभ–कामना छ ।


Post a Comment

Previous Post Next Post