यात्रा संस्मरण: 'ढुङ्गामा सुतेको एक रात' (चन्द्र रावत गुराँस )


    कर्णाली प्रदेशको निकै प्रसिद्ध तीर्थस्थल मानिएको महाबु धाममा पुग्ने उस्तै विचार र उस्तै चाहना भएका छ जना थियौँ । दैलेखको काँडाचौर पुगेपछि २ जना थपिनु भयो । विकास जंग शाही, थानेस्वर जैसी, निराजन हमाल, हरी केसी, तेज व. शाही र म चन्द्र रावत गुराँस दैलेख जिल्लाको महाबु धार्मिक तिर्थ स्थलसम्मको यात्रा तय गरेर बिहान ८ बजे देलेख सदरमुकाम पुग्यौँ । हाम्रो यात्रामा साथ दिन प्रल्हाद रेग्मी र लक्ष्मी थापा पनि जोडिनु भयो । हामीहरु आठैजना मोटर साइकल यात्री हौँ । आठ जनालाई ४ वटा मोटरसाइकल हामीले व्यवस्था गयौँ । यात्रामा आवश्यक पर्ने त्रिपाल, स्लिपिङ ब्याग, औषधि,जार्जर ब्याकअप खानेकुरा, पूजा सामग्री त्रिशुल, घण्ट, ध्वजा सबै तयारी अवस्थामा झोलामा बोकेर हिडेका थियौँ ।

    महाबु गाथ नेपालको प्रसिद्ध धार्मिक स्थलका रुपमा मानिन्छ । समुद्री सतहदेखि ४200 मिटरको उचाइमा अवस्थित यो क्षेत्रमा पुग्न दैलेख सदमुकामबाट ४२ कि.मि.को कठिन दुरी पार गर्नुपर्दछ । जनै पूर्णिमाको २ दिन अघिदेखि ५ दिन सम्म विशेष पूजापाठ हुने र जात्रा लाग्ने यो क्षेत्रमा शिवको दर्शन गरेर वर मागेमा मागेको इच्छा पुरा हुन्छ भन्ने मान्यता बैदिक कालदेखि चलिआएको छ । एउटा मात्र वर मागे पूरा हुने विश्वासले मानिसहरू दर्शनका लागि जाने गर्दछन् । यो वर्ष भाद्र १४ गते जनै पूर्णिमा परेकोले हामीहरु भाद्र १३ गत्ते नै महाबु पुग्ने गरी हिडेका थियौँ । काँधमा हरहर महादेव लेखिका पहेँला बस्त्रधारी मान्छेहरुको भिडमा हामी पनि थियौँ । कोही गाडीमा कोही, मोटसाइकलमा, कोही हिडेर भजन किर्तन गर्दै त्रिसुल र निगालो समातेर पहाडतिर उक्लिरहेको मान्छेहरु त साच्चिकै यात्रामा उत्साह जागेको थियो ।

    दैलेखको काँडाचौर भन्दा अलिपर बाटोको छेउमा बेलासपुर भैरम महादेवलाई १जोडा ध्वजा चढाएर हामीहरु अगाडी बढ्यौँ । खुर्सानीबाडी, भैँसी खोर जस्ता ठाउँहरुलाई पछाडी छोड्दै हामी अगाडी बढ्यौँ । महाबु जाने र नौमुले जाने २ वटा बाटाहरू हाम्रो अगाडि देखिए । हामीले दायाँ तर्फको बाटो छोडेर बायाँ तर्फको बाटोतिर मोटर साइकल मोड्यौँ । घोडामर्चेको एउटा पसलमा चाउचाउ पकाउन लगाएर घरबाट बनाएर लिएको रोटी खाएर पेटको भोक शान्त पारियो ।

    घोडामर्चेको उकालोमा १०/१५ मिनेटका लागि वाइकको पछाडि बस्ने साथिहरु झरेर हिड्दै माथि पुग्नु भो । बाटो घुमाउरो र चिप्लो थियो । हामी मोटरसाइकल चालक माथि नपुग्दै हाम्रा साथिहरू हिडेर माथि पुगीसक्नुभएको थियो । ओखरबासको रमाइलो दृष्यमा फोटो खिचाउने रहर जाग्यो । हामीले बाटोमा किनेर लिएको हरियो काँक्रो तेहीनेर फोडेर खायौँ । बलियो १ मुड़का प्रहार गरी थानेस्वर सरले फुटाल्दा सबैजना आद्चर्यचकित भएका थियौँ । जङ्गलमा घाँडो बजाउँदै चर्नलागेका भैसीहरु देखेर हरियो बनजंगल र हरियाली देखेर हामी मोहित भयौँ । साहेत यातो ठाउँमा बस्न पाए कुनै रोग लाग्दैन होला । विकासजंग सरले भन्नुभयो । मित्र तेज व शाहीले मकैको रोटी र मोही खानुभयो । निराजन हमालले सकेजति क्यामेरा घुमाउनुभयो । एक छिनमा कुहिरो आउँछर पुरै ढाकेर जान्छ । छिनछिनमा पानी पर्छ । केही छिनमा घाम पनि देखिन्छन् । प्रकृतिको महिमा अनौठो छ । भावरसैनको जङ्गलको बाटो पनि अफ्ठ्यारो रहेछ । मोटरसाइकलको पछाडी बसेका साथिहरु फेरी पनि झर्नुपर्ने भयो । हामीले बाइक धौ धौ गरेर अलि अफ्ठ्यारो बाटो कटायौँ । तेज व. शाहीले चिनजान गरेको एउटा घर बाटामै रहेछ । हामीले तेही घरको बाहिरपट्टि मोटरसाइकल राखेर बाँकी यात्रा हिडेर पुरा गर्ने निधो गर्यौँ ।

    हामीले छ घण्टाको मोटरसाइकल यात्रा पुरा गरिसकेका थियौँ । हामीहरु लगभग थाकिसकेका थियौं । हाम्रा मोटरसाइकल हरु अलि पुराना भैसकेका कारण बाटामा धोका दिन पनि सक्छन भन्ने सङ्का हामीलाई लागिरहेको थियो । घोडामर्चेको उकालोमा तातो चिया पिएर पैदल यात्रा गर्न खोज्यौँ । बाइक चोरी बाइकको तेल, हेलमेट चोरी हुँदैन भन्ने कुराम कोही पनि ढुक्क भएनौँ । तर एकजना साथिले भन्नुभयो । ठीक छ, कसले चोरेर लैगएमा पनि हामीलाई केही फरक पर्दैन । हाम्रा मोटरसाइकल , तेल, हेलमेट भन्दा ठूलो त तेही ठाउँ हो जहाँ भगवान शिवको को मुर्तर्तीस्वरूपमा दर्शन गर्न जाँदैछौँ । भगवानको अगाडि यि सबै चिज बस्तुको के नै महत्व छ र ? हुन पनि हो जस्तै लाग्यो ।


    'जय शम्भु' भन्दै लठ्ठी टेकेर उकालो हिड्न सुरु गर्यौं । सदरमुकाम देखि महावु गाथ सम्म पुग्ने बाटो तेती धेरै होइन् तैपनि उचाइ र हिमाली बाटोको कारण हामी थाकिसकेका थियौँ । एउटा ठाडो उकालोको फेदीमा आउने वित्तिकै मैले सोधे यो कुन ठाउँ हो ? खै हजुर म पनि पहिलो पटक नै आएको हुँ एकजना यात्रीले भन्नु भयो फेरी अर्को मान्छेलाई सोधेँ । यो नागगौँडा हो भन्नुभयो । हो साच्चे यो नागगौडा हो भन्ने कुरामा म पूर्ण विस्वस्त भएँ । बाटो फनक्क सर्प, घुमेझै घुमेको थियो भने बाटोको प्रत्येक ढुङ्गामा कलात्मक सर्पका चित्र जस्तो देखिन्थ्यो । नागगाौँडाको डाँडोबाट तलतिर हेर्दा दैलेख बजार, दुल्लू,छामघाट खोला, भावर सैन खोला, गैँडाबाज, काँसी काँध,बडाखोला, टाकुरी, जस्ता ठाउँहरु देखिदा रहेछन् । यी नागगौडाका ढुङ्गाको आकृति बिल्कुल फरक छन् । मलाई कौतुहलता जाग्यो - कसरी यि ढुङ्गा यस्तो भएहोलान? कुन राजाको पालामा बनेका होलान् ?
छलफलमा कसैले भन्नुभयो पाण्डवको पालामा बनेका हुन् । तर निराजन सरले फरक धारणा दिनभयो । "यो ज्वालामुखी विस्फोटनवाट बनेको पहाड हो । भित्रको तातो म्याग्मा पग्लिएर सेलाउने क्रममा ढुङ्गामा यि आकृतिको छाप बसेका हुन् । "अर्को कुनै कारण नपाएर हामीले उहाँको तर्कलाई उच्च समर्थन गर्यौँ ।
करिब आधा घण्टादेखि ४५ मिनेट लाग्यो हामीलाई नागगौँडाको उकालो काट्न । १५-२० मिनेट तेस्रो बाटो हिडेपछि हाम्रो अगाडि अर्को उकालो आयो । त्यो उकालोमा छन त तमाम यात्रीहरु थिए तर यो कुन उकालो हो नाम भन्ने कोही भेटिएन । एकजना महिला दिदीले भन्नुभयो यो नाउलीको उकालो हो । नाउलीको उकालो भन्दा पनि नाउलीको जङ्गल पो रहेछ । यो जङ्गलको उकालोमा मलाई स्याँ स्याँ बढीरहेको थियो । म अलि पछि परे । म नाउलीको जङ्गल मा हराएँ । यही जङ्गलमा जुकाले मेरो रगत चुस्ने अवसर पाए । एउटा भेडाको गोठमा आगोको धुवाँ आइरहेको थियो । तेही धुवाँले मलाइ बाटो पत्ता लगाउन सजिलो भयो ‌ । जङ्गल सकिए पछि ४/६ घर भएको एउटा सानो बजार आयो । मेरा साथीहरु मलाइ तेही पर्खिरहेका थिए । एउटा पसलमा टिमुरको नुन सँग उसिनेको आलु खायौँ ।

    लेकाली चराचुरुङ्गी, पशुचौपाया र वन्यजन्तुको भीडमा रमाउँदै लगभग वेलुकाको सात बजे हामी लिस्ने भिरको फेदीमा थियौँ । लिस्ने भिर सिधा ठाडो आकाशजस्तो । तलबाट हेर्दा तिहारमा झिलिमिली बालेजस्ते बत्तीको लस्कर देखिन्छ । बाटामा एकठाउँमा ध्वजा चढाएर भीर चढ्नु पर्ने रहेछ । त्यही आधार सिविरमा बसेर १/१ पोज फोटा लिएर पहाड उल्कन सुरु गर्यौँ । ढुङगामा टेक्दै ढुङ्गा समाउँदै, ढुङ्गाको पहाड चढ्दाको मेरो पहिलो अनुभव हो । कता-कता डर लागिरहेको छ । स्याँ स्याँ बढीरहेको छ । कतै यही पहाडबाट खसिनेत होइन मनले सङ्का गर्छ । भजन किर्तन गरेर हिडेका मान्छे कोही कसैसँग बोल्दैनन् । उनीहरू आफ्नै पाइलामा हेरिरहछन् । लिस्नेको पहाडमा चढ्दै गर्दा एकठाउँमा बसेर फोटो खिचाइयो । साँझ पर्दाको समयमा आकाशमा टलक्क टल्किएका पूर्णिमाको जून मोवाइलको क्यामेरा बाट हामीभन्दा तल पो देखियो । सिक्षक निराजन हमालले सुनाउनुभयो एउटा गजवको यात्रा संस्मरण -२०७८ सालमा कक्षा ९/१० का विद्यार्थीलाई शैक्षिक भ्रमणमा ल्याउँदा उहाँहरु यो उकालोमा रातीको १० वजे आइपुग्नु भएको रहेछ । विद्यार्थीले आफ्नो झोला बन्दोबस्तिका समान सहित तल जङ्गलबाट दाउरा बोकेर उक्लेका रहेछन् । खुसीको कुरा के रहेछ भने तेतीबेलाको यात्रामा कुनै पनि विद्यार्थी विरामी भएनछन् । कसैलाई पनि सामान्य चोटपटक पनि लागेन । यदि कोही विद्यार्थीलाई केही भएको भए ठूलो समस्या हुनेथियो । यस्तो ठाउँमा किशोरावस्थाका अल्लारे केटाकेटी ल्याएर आउनु पनि जोखिम नै हो । तर तेस्तो केही समस्या भएनछ ।

    हामीहरु पनि शान्त पहाडको नाङ्गो छातीमा नागबेली बाटो हुँदै उँभो उँभो लागिरहेका छौँ । बिचबिचमा आराम गर्दै, कोही कसैसँग नवोली उकालो चढ्दैथिए । एक जना तिर्थालुले भन्नु भयो 'यहाँको प्रत्येक ढुङ्गामा भगवानको शक्ति छ । हामी जुन ढुङ्गामा टेक्छौँ जुन ढुङगा समात्छौँ तेही ढुङ्गामा भगवानले आशिष् दिनु हुन्छ । र यहाँबाट कुनै पनि ढुङ्गा खस्दैन र कसैलाई पनि चोटपटक लाग्दैन । कसैको खुट्टा चिप्लिएर कोही पनि तल खस्दैन । फेरी म झसंग भएँ एउटा खुट्टा चिप्लिएमा हालत के होला ? एउटा मान्छे मात्र खस्दा त्यो भन्दा पछिका मान्छे खस्ने पनि उत्तिकै डर छ । साहेत यो उकालो चढ्नेहरू तेही विश्वास लिएर माथितिर उक्लिदैछन् होला ।
कसले बनायो होला ढुङ्गाको पहाड खोपेर ढुङगाकोको बाटो ? मनले सोचीरहयो एउटा मात्र ढुङ्गा खसेत यहाँ हामी पछिका मान्छेलाई सिधै टाउकोमा लाग्थ्यो होला । कति मान्छेहरू यो भिरबाट खस्थे होला ।
हामीहरू महाबु गाथ सम्म पुग्ने अर्को डाँडामा आईपुग्यौँ । त्यो ठाउँ दुईवटा डाँडाहरुको बिचको दुम्च्याइलो ठाउँ रहेछ । तेस ठाउँलाई दमौडा भन्दा रहेछन् । दैलेख र कालिकोटको सिमाना रहेछ । केही वेर हामी निस्तब्ध भएर उभियौँ । हामी तेहाँ पुग्ने बित्तिकै सयौँको सङ्ख्यामा सेता गाडीहरु टल्किएको देखिए । सयौँको सङ्ख्यामा पालहरु टाँगिएका थिए । अँध्यारोमा जब ती गाडीहरु देखिए एकजना साथीले भनिहाल्नुभयो । 'देशको ठूला भ्रस्टचारीहरुले महँगो भाडा तिरेर बुकिङ गरेर ल्याएका गाडी हुन । मैले भने तेसोत नहोला । यहाँ हुने खाने मात्र आउँदैनन् गरिव पनि आउँछन् । अर्को साथीले भन्नुभयो 'हामीले पनि बाइक यही सम्म ल्याए हुने थियो । '

    होइन हामीले ठिक गर्यौँ बाइक यही सम्म ल्याए त पहाड चढ्दाको अनुभब हुने नै थिएन । मैले विचार प्रस्तुत गरेँ
त्यो स्थानमा हजारौँको संख्यामा मोटर साइकल पनि पुगेका थिए । तर हामीलाई मोटसाइकलको यात्रा अफ्ठ्यारो लागेकोले बिच बाटोमा नै राखेका थियौं । ठूला ठूला डोजरहरु पनि राखिएका थिए । नेपाल आर्मी र सशस्त्र प्रहरी को एक टुकुडी पनि रहेछ । सुरक्षा र त्यो मेलालाई व्यवस्थापन गर्न उनीहरु तैनाथ थिए । तेहाँ डाँडा भरी मान्छे छपक्कै थिए । ढुङगाको राजधानीमा एउटा ढुङ्गा भेटायौँ जहाँ माथिबाट अर्को ढुङ्गाले पानी र सित छेक्ने पक्का भएपछि त्यही ढुङ्गामा पाल ओछ्यायौँ । हामी भन्दा पहिले तेही ढुङ्गाको भित्रपट्टी एकजोर युवा युवति गुडुलमुडल भएर सुतिरहेका थिए । हामीले उनीहरुलाइ केही डिस्टब गरेनौँ । साहेत नव विवाहित जोडी हुनसक्छन् वर माग्न आएका होलान् हाम्रो अनुमान यही थियो । मैले सोधेँ हामी आज नै हिडेर किन महावु गाथ सम्म जान मिल्दैन ?'

    १२ पटक महाबु गाथ सम्म पुगि पुगिसकेका शिक्षक प्रल्हाद रेग्मीले भन्नुभयो । यो बाटोमा रातीमा भुत हिडछन् भन्ने मान्यता छ । तेसैले राती हिड्न मिल्दैन । अर्को मान्यता आज रातभरि जागाह बसेर भोली बिहान यहाँ त्रिवेणीमा नुहाई महाबु शिबको दर्शन गर्न जानु राम्रो मानिन्छ । जागा बस्नु भनेको जागृति वा जागरण पैदा गर्नु हो । '
अग्ला पहाडका ढुङ्गाको चरोभित्र बसेर हामीले यो रात जागृति प्राप्त गर्ने निर्णय गर्यौँ । आकाशमा टहटह जुन लागिरहेकोले मौसम सफा देखियो । यही मौका हो बाहिर घुमौँ । यहाँ एकैछिनमा मौसम बदलिन्छ । तर साथीहरुको सल्लाहमा खाना खाएर बाहिर निस्कने निर्णय भयो । हामीले तामाको अचार सँग रोटी खायौँ । आहा क्या मिठो । साहेत हामीहरू सबै भोकाएका थियौँ ।

    ४/४ जनाको समूह बनाएर बाहिर घुम्न जाने योजना भयो । ४ जना साथी त्यो ढुङ्गाको बास कुर्न बसे । स्लिपिङ ब्याग ओढेर उनीहरु थकाइ मेटाउन पुगे । हामीले दमौडाको पुरै भू:भाग हेर्यौँ । रातीमा धेरै टाढाका गाउँहरू देखिएनन् । रातभरी यो अनकन्टार ठाँउमा हजारौँको संख्यामा बत्ती बलिरहेका छन् । कतै भजन कीर्तन कतै नाच कतै दोहोरी गीत घन्किरहेका छन् । पसलमा खाना, नास्ता, चिया जे खान पनि पाइदोरहेछ । तर ती अस्थायी पसलहरु रहेछन् । महाबुको मेला सकिने बित्तिकै ती पसलहरु पनि तेहाबाट हट्दारहेछन् । एउटा पसलमा हामीले जडीबुटी हालेको तातो चिया पियौँ । लक्ष्मी थापा, एक मात्र महिला हाम्रो समुहमा हुनुहुन्थ्यो । उहाँ मेरो अन्टि भएकोले उहाँलाई यो  समुहमा खान बस्न हिड्न केही अफ्ठेरो भएन । हामी सहज वातावरणमा थियौँ तर यात्रा कस्टकर नै थियो ।
    समय बिताउन साथीहरुमाझ रातभर हाँसोमजा ख्याल ठट्टा भैरह्यो । कतिबेला लुडो खेल्ने कतिवेला मोवाइलमा भिडियो हेर्ने । कतिवेला चुट्किला, कतिबेला गीत,कथा सायरी जति भने पनि समय कछुवाकै गतिमा हिड्न थाल्यो । ढुङ्गा ढुङ्गाका ओडारमा मान्छेहरु बसेका छन । कतै गीत कतै भजन सुनिन्छ ।
जसरी तसरी विहानको ४ बज्यो । मान्छेहरु चलमलाए । हामी पनि सौच गरी नुहाई धुवाई गर्यौँ । कपडा बदल्यौँ । यतिवेला सम्म विहानको ५ बजिसकेको थियो । हामी मास्थिर उक्लियौँ । उस्तै कालो अँध्यारो ढुङ्गाको पहाड । मास्थिर हेर्दा मानिसले बालेको टर्चको उज्यालो आकाशमा देखिने तारा जस्तै देखिन्थे । भक्तजनहरू बाटोबाटोमा ध्वजा चढाउँदा रहेछन् । हामी जस्तालाई महाबुको डाँडाको टापुमा पुग्न पनि ठ्याक्कै १ घण्टा लाग्दो रहेछ । बाटामा कैयौ यात्रुहरुलाई कष्ट भएको थियो । कोही कसै सँग नबोलेर आफ्नै सुरमा हिडेका थिए । सानो स्वरमा भगवानको नाम उच्चारण गर्दथे । उकालोमा मेरो साथी पनि हराए । फनफनी घुम्दै माथि चढ्दा मलाई पनि कतिखेर ढल्छु जस्तो भएको थियो । तै पनि बस्दै आराम गर्दै माथि पुगियो । म भन्दा पछाडी हजारौँ मानिस छन् । जो माथि आइपुगेका छैनन् । आउँदैछन् । ऊ त्यही ही हो महावु गाथ । भन्दै एकजना मानिसले देखाउनु भयो । आहा क्या सुन्दर दृश्य । माथि त झलमल्ल उज्यालो भैसकेछ । त्यो भन्दा पर महाबु गाथ ढुङ्गामा बिचमा देखियो । मानिसहरू तेतै तिर हिड्दैछन् । घामको पहिलो स्पर्शले ब्यूझियो महाबु धाम । सूर्यको पहिलो किरण परेर निकै सुन्दर देखियो । सबै फोटो खिचाउन व्यस्त भए । एकजना साथी यहाँबाट बर्दिया नेपालगञ्ज देखिन्छ भनेर देखाउँदै थिए । देखिन धेरै टाढाको दृष्य देखिन्थ्यो । लाग्थ्यो हामी आकाशभन्दा माथि छौँ । साहेत सपनामा पनि यो भूमीमा आउन पाइने थिएन होला । रमणीय पाटन लेक, बुकी झार, उच्च भागमा पनि समतल भूभागको मनोरम दृश्यावलोकन गर्न पाउनु ठूलो सौभाग्य हो भनेर मेले मनमनै सोचेँ । करिव सवा छ मा धेरै टाढा तल पृथ्वीको काखबाट सूर्य मास्थिर आइरहेको देखियो । सारा यात्रुहरु यो दृश्य देखेर खुसी भए । किनभने घमाइलो दिनको शुभ संकेत भयो ।

    आफु नमरी स्वर्ग देखिदैन भने झै महाबु नगएर महाबुको सुन्दरता थाह पाइने थिएन । महाबुको छातीमा रहेका हरिया घाँसका फाँटहरू, लेकका काखबाट लडिबुडी खेल्दै बगेका खोला, खोल्साहरू, मनै लोभ्याउने झरनाहरु आँखाले देखि नसकिने फाँटहरूमा फुलेका भुँइफूलका लहरहरू देख्दा हाम्रो मन लोभियो । त्यही पाटनबाट जुम्ला,कालिकोट, अछाम जाजरकोटका गाउँहरू देख्न सकिदोरहेछ । हरेक दिन सूर्यको पहिलो किरण यही महाबु पाटनमा झल्किन्छ । ढुङ्गा - ढुङ्गामा फाँट फाँटमा मान्छेहरू खुसी भएर उभिएका देखिन्छन् । सूर्योदयसँगै हातमा त्रिसुल, निगालो, घण्ट बोकेका मानिसहरू शिबको गाथ तर्फ गइरहेका थिए । मुख्य मन्दिरमा पूजा गर्न हामी पनि ४०० मिटर परबाटै मुखमा दुबो र बुकी फूल च्चापेर भगवान शिवजीको विशेष पूजा स्थलमा पुग्यौँ ।

    दैलेख भुर्तिका आचार्य थर भएका पुजारीले काँचो दूध शिवलिङ्गमा चढाए पछि पूजापाठ सुरु भयो । ढुङ्गा ढुङ्गामा बसेर ब्राहमणहरू मन्त्र पाठ गरेको दृष्य पनि रमाइलो थियो । त्रिसुलै त्रिशुलको खात, निगालो, घण्टहरू चारैतिर राखिएको र बिचमा मुख्य शिवलिङ्ग रहेछ । हामीहरू पनि नबोलेर सात पटक घुम्यौं । लिएको प्रसाद तथा सामाग्रि चढायौं दर्शन गयौँ चढायौँ एउटा आस्थाको समर्पित ढोग । र बाहिर निस्क्यौं । यो मनमोहक दृष्यलाई १/२ घण्टा हेरेर आँखाको सन्तुष्टि मेटायौँ

    मानिसहरू सँग सोध्दै गर्दा यो पूजाको चलन कहिलेदेखि चलेको थियो भनि मैले जिग्यासा लिएँ । जानकारी लिँदा दैलेख भुर्तीका एक आचार्य ब्राहमणमका छोरा आवाज विहिन थिए । उनले गाई पालेका थिए । उनले त्यहाँ गाइ चराउन गएको बेला, ढुङ्गामा सुतेको अवस्थामा सपनामै शिवजीको दर्शन प्राप्त गरे । उक्त ढुङ्गामा दिनहुँ दूध चढाउनु भन्ने शिवको अर्ति पाएपछि उनले उक्त ढुङ्गामा दिनहुँ दूध चढाएका र पछि ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको साथै उनी बोल्न सक्ने र बेद पढ्न सक्ने भए भन्ने किंवदन्ती छ । भुर्तिका आचार्य र कालिकोटका काफ्ले बाउनले नै शिवजीको पहिलो पूजा गर्दा रहेछन । महावुको अर्को नयाँ प्रचलन देखियो । जुन बाटो भएर शिवको दर्शन गर्न गइन्छ त्यही बाटो भएर फर्किन नमिल्दो रहेछ । फर्किदा हामी अर्को बाटो सिढी सिढी भएर बिस्तारै ओर्लियौँ पाटनका बीच बीचमा स–साना ताल, नजिकै केही गाईगोठ र वरपर चौरमा भेडाबाख्रा,गाई भैंसी चर्दै गर्दाको दृष्यले महाबुको महिमा अति मनमोहक बनाएको छ । झन् त्यसैमाथि विभिन्न रङ्गिबिरङ्गी फूलले विवाह मण्डपझैँ देख्दा जति हेरे पनि धित मर्दैन । जसरी पहिलो पहिलो प्रेममा पर्ने बेलाका प्रेमिल जोडीहरू एक अर्काको आखाँमा हेरेर थाक्दैनन्,तेसरी नै हामी पनि थाकेका थिएनौँ । जति हेर्‍यो, उति हेरौँ लागिरहेको थियो । चारैतिर सम्म परेको फाँट बिचबिचमा ससाना ताल त्यो भन्दा अलि टाढा हरियो जङ्गल र कुहिरो लागेको हिमाल । पारि पारि देखिने मोतीझैँ टल्किने हिमशृंखला,सेता वादलका टुक्राहरु, बिहानको पारिलो घाम,वरिपरीको हरियालीयुक्त पहाडका टाकुराहरु

    यि सबै दृष्य आउनेगरि हामिले भेडाको बगालमै बसेर फोटो खिचायौँ । शिक्षक निराजन हमालले सकेजति क्यामेरा घुमाउनु भयो । फर्किने  बाटामा आमा दिदी बहिनीहरू प्रसाद राखेर लामै लाईनमा बस्नु भएको देखियो । ति आमा दिदी बहिनीहरुलाई फर्केका भक्तजनहरुले दुबो, दक्षिणा र आशिर्वाद दिनु पर्नेरहेछ । हामीले पनि तेसै गर्यौँ । उनीहरुबाट प्रसाद ग्रहण गर्यौँ ।
    'यो चलन कहिलेबाट चलेको हो ? यो चलन किन चलेको हो ?किन हजुरहरु प्रसाद राखेर बाटोमा बस्नुहुन्छ? मैले सोधिहाले । एउटी आमाले भन्नुभयो पहिले कै चलन हो बाबु । हामी महिला माथि शिवजीको गाथमा जान मिल्दैन । हजुरहरु माथि शिवजीको गाथ गएकाहरुले हामीलाई आर्शिवाद दिएमा हामीलाई पुग्छ । ' उनीहरुको उत्तरमा चित्त नबुझेर मैले फेरी सोधेँ-'हजारौँ महिलाहरु माथि गएका छन् त ?' उनीहले भने कोइराला र अर्को के थर भएका महिलाले जान नमिल्ने बताइन् । हुन सक्छ पुरानो चलन भनेर हामीहरु तेहाँबाट अगाडि बढ्यौँ ।
यहाँको ठाउँलाई कसैले शान्तिभूमिको संज्ञा दिन्छन त कोही स्वर्ग हो भन्छन् । हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ । साँच्चिकै महाबु प्रकृतिको सुन्दर छटाले सजिएको छ । यहाँको वातावरणीय सुन्दरताको बयान शब्दमा अपुग हुन्छ शायद । कुतुहल र रोमाञ्चकताका छालहरु उर्लिन थाले मनभरी । तैपनि हामीले सुन्दरतालाई आफ्नो दिलमा कैद यात्राको बिट मार्नै पर्ने थियो । हामी महाबुको सुन्दरतालाई मानसपटलमा सजाउँदै आआफ्नो झोलीतुम्बा बोकेर फिर्ता भयौं ।

(यात्रा संस्मरण २०८०भाद्र १४)


 
लेखक
चन्द्र रावत गुराँस 
विश्व नेपाली साहित्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष हुन् |

  

 

 

 

Post a Comment

Previous Post Next Post