आवाज संस्थाले मनायो २५ औँ बार्षिक उत्सव

 माघ २८ 

प्रवेश सिंह ठकुरी 

आवाजले सोमबार वीरेन्द्रनगरमा २५ औँ बार्षिक उत्सव एवं रजत जयन्ती मनाएको छ । कार्यक्रमको उद्घाटनका क्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले आवाज संस्थाले हिंसा प्रभावित महिला तथा बालबालिकालाई न्याय दिलाउन, उनीहरुको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता तथा समग्र सामाजिक रुपान्तरणमा अनुकरणीय भूमिका खेलेको भन्दै प्रसंशा गर्नुभयो ।


 सामाजिक न्याय र समावेशी विकास मार्फत न्यायोचित समाज निर्माण गर्ने सरकारको साझा लक्ष्यमा संघ संस्थाको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री कंडेलले बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार लैंगिक समानता, महिला सशक्तिकरण र बालकालिकाको हक संरक्षणका लागि प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो । 

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समाज रुपान्तरणको अभियानमा सरकार र सामाजिक संघ संस्था सँग सँगै अघि बढ्नुपर्ने बताउनुभयो । महिला बालबालिकाका विभिन्न सवालमा सरकार र आवाज संस्थाले सहकार्य गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य हुने बताउनुभयो । संस्थाका अध्यक्ष इराधा गौतमले महिला तथा बालबालिकाहरुको संरक्षण र विकास गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले हिंसा प्रभावित महिला र बालबालिकाको न्यायिक प्रक्रिया, बाल अधिकार, बालविवाह बिरुद्धका अभियान लगायत लैंगिक समानता र सामाजिक समावेशीका क्षेत्रमा आवाजले काम गर्दै आएको बताउनुभयो । रजत जयन्तीका अवसरमा संस्थाले लामो समय काम गरेर योगदान पुर्याएका कर्मचारी, पूर्व कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि लगायतलाई सम्मान गरेको छ । आवाजले कर्णालीका दशवटै जिल्ला तथा लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु र रुपन्देही जिल्लामा विभिन्न परियोजना अन्तर्गत काम गरिरहेको छ ।

 अन्ततः आवाजले महिला बालबालिकामा हुने विभेद अन्त्यका लागी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको पनि छ।

Post a Comment

Previous Post Next Post