कविता : तिमीलाई भेट्ने प्रतीक्षा (नारायण रिजाल )


तिमी छौ, म छु,
तर हामी छैनौं—
अक्षरहरू साक्षी छन्,
तर स्पर्श शून्य छ।

हरेक रात एकैनास,
मेरो औँलाहरू मोबाइलमा,
तिम्रो शब्दहरू स्क्रीनभरि,
तर आवाज मौन छ,
नजरको भाषा बेखबर छ।

तिम्रो "कस्तो छ दिन?" भित्र
एउटा अघोषित आतुरता हुन्छ,
मेरो "राम्रो छ, तिमी सुनाऊ" भित्र
एउटा गहिरो प्रतीक्षा लुकेको हुन्छ।

समय जुरेन, भेट भएन,
बहानाहरू अचम्मैका छन्—
कहिले व्यस्तता, कहिले संकोच,
कहिले आफैंलाई बिर्सने अभ्यस्तता।

तिमीलाई सोधूँ जस्तो लाग्छ,
के हाम्रा संवादहरू केवल अक्षरमै बाँधिने?
के तिम्रो मनमा पनि यस्तो अराजक चाहना छ,
जसले भेट्न खोज्छ, तर समयलाई जित्न सक्दैन?

बिहानदेखि राति,
प्रतीक्षाको एउटा अदृश्य चक्र चल्छ,
तिमी लेख्छौ— "अहिले भेट्न त गाह्रो होला",
म मुस्काउँछु— "हो त, समय मिल्नुपर्छ"।

तर मनले मात्रै बुझ्छ,
समय त कहिल्यै मिल्दैन,
समय त सिर्जना गर्नुपर्छ।

एक दिन त्यो समय सिर्जना हुनेछ,
जब कुनै सन्देश पठाउनु पर्ने छैन,
कुनै प्रतीक्षा गर्नु पर्ने छैन,
म तिमीलाई देख्नेछु, तिमी मलाई,
र हाम्रा मौनताहरू बोल्नेछन्—
सजीव, सम्पूर्ण, समयभन्दा पर…

तर त्यो दिन कहिले आउँछ?
के भोलि? के पर्सि?
कि यो प्रतीक्षा नै
एउटा चिरस्थायी कथा बन्नेछ?

केही कुरा हराइरहेजस्तै लाग्छ,
अक्षरहरू बोल्छन्, तर अधुरै छन्,
जुन कुराहरू भेट हुँदा आँखाले बोल्नेछन्,
आज तिनीहरू मौन छन्।

तिम्रो उपस्थितिले मात्र
केही उत्तर दिनेछ,
तिमीलाई हेरेर मात्र
केही प्रश्न मेटिनेछन्।

सायद हामी सधैं व्यस्त नै रहनेछौं,
कहिले काममा, कहिले बहानामा,
तर जुन दिन साँच्चै मनले चाहनेछ,
त्यो दिन समय आफैं आएर ढोका ढक्ढक्याउनेछ।

त्यस दिन कुनै मेसेज आवश्यक पर्ने छैन,
त्यस दिन ‘तिमी कता छ्यौ?’ भन्ने प्रश्न रहने छैन,
त्यस दिन म अगाडि उभिएको हुनेछु,
तिमी हेरिरहेकी हुनेछ्यौ ।

त्यो दिन आउनेछ,
आउने नै छ,
तर तबसम्म,
म यहीँ छु,
तिमीलाई भेट्ने प्रतीक्षामा...

Post a Comment

Previous Post Next Post